सिलगढी, ३१ जुलाई (सिलगढी जर्नल) – रंगापानी क्षेत्रमा आज फेरि एक पटक ट्रेन दुर्घटना भएको छ। यसपटक मालगाडीका दुई वटा ट्याङ्कर रेलको लिकबाट बाहिर उछिटिएका छन्। प्राप्त जानकारी अनुसार सिलगढी नजिक रंगापानीमा तेल डिपो जाँदै गर्दा उक्त दुर्घटना भएको हो। तथापि, दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। दुर्घटनापछि लिकबाट उछिटिएका डिब्बाहरूको मरम्मत कार्य जारी छ। यसै कारण उक्त लाइनमा चल्ने सबै ट्रेन सेवा हाललाई बन्द गरिएको छ।
स्मरण रहोस्, गत डेढ महिना पहिले मात्र रंगापानीमा कञ्चनजङ्गा एक्सप्रेस र एउटा मालगाडी ठोक्किँदा भयानक दुर्घटना भएको थियो, जसमा धेरै जनाले प्राण गुमाएका थिए भने धेरै यात्रुहरू घाइते भएका थिए। आज फेरि एक पटक त्यही इलाकामा मालगाडी दुर्घटना भएको छ।